एनआरएनप्रबाससमाचार

एनआरएन यूकेले नेपालको अध्यागमनका उच्च अधिकारीसँग अन्तर्क्रिया गर्दै

शिब भण्डारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन यूके)ले नेपालको अध्यागमन विभागका उच्च अधिकारीसँग छलफल गर्ने भएको छ । आगामी २५ तारिख शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको एनआरएन यूकेका महासचिव आर.के. त्रिपाठीले जानकारी दिए ।

कार्यक्रममा नेपालबाट आएका अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल, विमानस्थल अध्यागम प्रमुख राजेश पौडेल, निर्देशक विष्णुहरि उपाध्याय, गृह मन्त्रालयका सहसचिव चुडा न्यौपाने, वरिष्ठ अध्यागमन अधिकृत आनन्द पौडेल र कुलशेखर अर्याल, अध्यागम अधिकृत मञ्जु शर्मा सहभागी हुने कार्यक्रम छ ।

कार्यक्रममा एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्यलगायत बेलायतस्थित नेपाली अगुवाहरु पनि सहभागी हुने त्रिपाठीले बताए ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले गैरआवासीय नेपालीलाई विमानस्थलमा हुने समस्याबारे छलफल हुने जानकारी दिए ।

कार्यक्रममा विमानस्थल भन्सारमा हुने समस्यादेखि एनआरएनका लागि छुट्टै डेस्क स्थापनाबारे पनि ध्यानाकर्षण गराउने तयारी छ ।

Comment here