लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएए) आइसीसी सदस्यमा युबा उद्यमी कृष्ण तिवारीले उम्मेदवारी दिएका छन। तिवारीले २०१९ –२०२१ कार्यकालका लागि आफूले उम्मेदवारी दिएका छन ।बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको अनुरोध बमोजिम आफू चुनावी मैदानमा आउनु परेको तिवारीले बताए ।
यसकारण मेरो उम्मेदवारी -कृष्ण तिवारी
आदरणीय बेलायतवासी एनआरएनए सदस्यहरू,
गैरआवासीय नेपाली महासङ्घका सत्तरीभन्दा बढ़ी राष्ट्रिय समितिमध्ये सबैभन्दा ठूलो समिति बन्ने गरी यहाँहरूले अभूतपूर्व रूपमा एनआरएनएप्रति देखाउनुभएको माया र संलग्नताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
सबैभन्दा ठूलो बन्ने काम पूरा गरेर मात्रै पुग्दैन । अब यसलाई सबैभन्दा राम्रो बनाउने दायित्व पनि हाम्रै हो । बेलायत एनआरएनए अभियानको जन्मस्थल पनि हो । र यो अभियानलाई दिशा निर्देश गर्न सक्ने बौद्धिक र साङ्गठनिक व्यक्तित्व पनि यसले दिँदै आएको छ । धेरै अग्रज र समकालीनहरूले मिहिनेतपूर्वक स्थापना गर्नुभएको त्यही जगमा थप केही ईंटा थप्न सकिन्छ र अन्तर्राष्ट्रिय एनआरएन सञ्जालमा बेलायतको बलियो प्रतिनिधित्व गर्न सकिन्छ भन्ने विश्वासका साथ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको छु ।
नेपालमा लामो समय विश्वविद्यालयमा प्राध्यापनको अनुभव सँगालेर बेलायत पसेको मैले बेलायत आएदेखि नै अध्यापनदेखि विभिन्न व्यवसायमा संलग्न रहँदा पनि समाजसेवा र एनआरएनएका गतिविधिसँग आफूलाई सघन रूपमा जोड्दै आएको छु । मैले यस अघिको कार्यकालमा एनसीसीको सचिबका रूपमा काम गरिसकेको छु ।
मैले केन्द्रीय सदस्यका रूपमा बेलायतका गैरआवासीय नेपालीका मुद्दाहरूलाई केन्द्रसम्म उठाउने, सहजीकरण गर्ने र प्रतिनिधित्व गर्नेमात्र नभई केन्द्रीय मुद्दाहरूमा समेत प्रभावकारी भूमिका खेल्न सक्छु भन्ने विश्वास लिएको छु । मेरो विश्वासमा ल्याप्चे ठोकेर मलाई परीक्षाहलमा पठाउने जिम्मा तपाईंहरूको हो र पास भएर निस्किने अठोट मेरो हो ।मलाई परीक्षाको त्यो अवसर प्रदान गर्नुहुन हार्दिक अनुरोध छ ।
Comment here
You must be logged in to post a comment.