खेलकुद

स्वर्ण जित्ने लक्ष्य

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासलाई पल्टाएर हेर्दा महिला भलिबलले नेपाललाई तीन पटक काँस्य पदक दिलाईसकेको छ ।नेपाली भलिबलले साग खेलकुदमा ल्याएको सर्वाधिक ठुलो पदक पनि यहिँ तीन काँस्य हो । पुरुष टिमले अहिलेसम्म पदक ल्याउन सकेको छैन ।

भलिबलले तेस्रो संस्करणबाट सागमा प्रवेश पाएको थियो । पहिलो पटक पुरुष भलिबल मात्र समावेश गरिएको थियो । श्रीलंकाको कोलम्बोमा आयोजना भएको पाँचौ सागमा पहिलो पटक महिला भलिबल समावेश गरिएको थियो । तर, नेपाली महिला भलिबल टिमले आठौं सागबाट मात्र प्रतिस्पर्धा जनाउन थाल्यो ।

घरेलु भूमि काठमाडौंमा सन् १९९९ मा भएको आठौं सागमा नेपाली महिला भलिबल टिमले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो । र, महिला टिमले पहिलो सहभागितामै काँस्य पदक जितेर इतिहास रचेको थियो । काँस्यको लागि भएको भिडन्तमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सन् २००४ मा पाकिस्तानको इस्लामावादमा भएको नवौं सागमा भने महिला भलिबललाई सहभागिता गराइएन । तर, सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दशौं सागमा पुनस् भलिबललाई सहभागी गराइयो । दशौं सागमा पनि नेपाली महिला टिमले काँस्य पदक हात पार्यो । माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेर नेपालले दोस्रो पटक काँस्य जितेको थियो ।

यस्तै सन् २०१२ मा भारतमा भएको बाह्रौं सागमा पनि नेपालले माल्दिभ्सलाई नै ३-० को सोझो सेटमा पराजित गर्दै काँस्य जितेको थियो । सागमा पुरुषको तुलनामा गर्विलो इतिहास बनाएको महिला भलिबल टोलीले घरेलु मैदानमा हुने १३ औं सागमा भने नयाँ इतिहास रच्ने योजना बनाएको छ । जसका लागि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरु दैनिक कडा अभ्यासमा पसिना बगाईरहेका छन् ।

घरेलु भूमिको सागलाई लक्षित गर्दै नेपाल भलिबल संघले साउनको पहिलो हप्ताबाटै खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा राखेको छ । प्रारम्भिक चरणमा २५ खेलाडीलाई प्रशिक्षणमा बोलाईएको छ । स्वर्ण जित्ने लक्ष्य लिएका खेलाडीहरु बिहान र बेलुका गरी दिनको दुई पटक प्रशिक्षण गरिरहेका छन् । ‘हाम्रो गोल्डमेडल जित्ने लक्ष्य छ । र, यसकै लागि कडा प्रशिक्षण पनि गरिरहेका छौं,’ मुख्य प्रशिक्षक जगदिश भट्टले भने, ‘टिममा भर्खरका १६–१७ वर्षका खेलाडीहरु छन् र सबै इनरजेटिक छन् । उनीहरुमा धेरै जोस र जागर भरिएको छ ।’

मुख्य प्रशिक्षक भट्टले महिला खेलाडीले दैनिक ६–७ घण्टा प्रशिक्षण गरिरहेको बताए । दिनको दुई पटक गरिने कडा प्रशिक्षणको कारण खेलाडीहरु पनि निकै निखारिदै गएको प्रशिक्षक भट्ट बताउछन् । ‘खेलाडीहरुले दिनको दुई पटक ६–७ घण्टा ट्रेनिङ गर्छन् । उनीहरुको खेल पनि राम्रो हुँदै गएको छ । प्रशिक्षकको नजरमा २५ जना खेलाडीहरुले नै राम्रो गरिरहेका छन् ,’ प्रशिक्षक भट्टले भने ।

प्रशिक्षक भट्टले सागमा तीन काँस्य जितिसकेको नेपालले घरेलु भूमिमा स्वर्ण जित्ने अवसर रहेको समेत बताए । ‘नेपालको स्वर्ण सम्भावना धेरै छ । हामीले भारत र श्रीलंकासँग प्रतिस्पर्धा गर्न प्रशिक्षणमा लागिरहेको छौ,’ उनले थपे । साग गेम्समो महिला भलिबलमा नेपालको कठिन प्रतिद्वन्दी भारत र श्रीलंका नै हो । साग इतिहासमा भारत र श्रीलंकाले नै स्वर्णमा कब्जा जमाउदै आएका छन् । यी दुई राष्ट्रलाई हराउँन सके नेपालले स्वर्ण जित्ने प्रशिक्षक भट्टले बताए ।

भलिबल संघले प्रारम्भिक चरणमा बोलाएको २५ सदस्यीय टोलीमा नियमित कप्तान बिनिता बुढाथोकी, मञ्जु गुरुङ लगायतका ६ खेलाडी नियमित सदस्यहरु टिम बाहिर रहेका छन् । प्रशिक्षक भट्टले टिम बाहिर रहेका खेलाडी भन्दा बन्द प्रशिक्षणमा रहेका खेलाडी राम्रो भएको समेत बताए । धेरै नयाँ खेलाडीको फिटनेस र खेल उत्कृष्ट हुँदा पुराना खेलाडी टिमबाहिर रहेको प्रशिक्षक भट्टको भनाई छ ।

Comment here