एनआरएन

एनआरएनए पोर्तुगलमा गैरे र सुवेदी विजयी

लिस्बन । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलको सातौ अधिवेशनले गरेकाे निर्वाचनबाट अध्यक्षमा तिलक गैरे निर्वाचित भएका छन् ।

कुल १४७२ मत खसेकोमा काँग्रेस प्यानलका गैरेले ८५१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी कम्युनिष्ट-समाजवादी प्यानलका ईश्वर रिजालले ५५१ मत प्राप्त गरे । दुई स्थानका लागि निर्वाचन भएको अन्तर राष्ट्रिय समन्वय परिषद सदस्यमा काँग्रेस प्यानलकै रवीन अधिकारी र नारायणकाजी मगर विजयी भएका छन्। अधिकारीले ७८८ र मगरले ६४३ मत प्राप्त गरेका हुन । कम्युनिष्ट-समाजवादी गठबन्धनका धनराज शेर्पाले ४६३ र गोविन्द सापकोटाले ५६८ मत प्राप्त गरेका छन् ।

महासचिव पदमा भने कम्युनिष्ट-समाजवादी गुटका हेमराज सुवेदीले काँग्रेस गुटका प्रकाश कडरियालाई पराजित गरेका छन् । सुवेदीले ६६८ र कडरियाले ५४९ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा काँग्रेस प्यानलकै भीमसेन थापा कम्युनिष्ट-समाजवादी प्यानलका आनन्द गुरुङलाई ३८६ मतान्तरले पछाडि परेका छन् । थापाले ८१७ र गुरुङले ४३१ मत पाएका छन् । उपाध्यक्षमा काँग्रेस समूहका अशोक गुरुङले ७६० र मच्छिन्द्र अर्यालले ५९७ मत ल्याएर कम्युनिष्ट-समाजवादी समूहका पेम्छिरी शेर्पा र स्वतन्त्र उम्मेदवार गणेश पाण्डेयलाई पराजित गरेका छन् । शेर्पाले ५४५ र पाण्डेयले ३७३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा काँग्रेसका विक्रमजङ कुँवरले ६१९ मत ल्याएर विजयी बनेका छन् । कम्युनिष्ट-समाजवादीका उम्मेदवार हरी थापाले ५८२ मत पाएका छन् । युवा संयोजकमा काँग्रेसका दिनेश भण्डारीले ७६२ र कम्युनिष्ट-समाजवादीका मिलन रेग्मीले ४६५ मत प्राप्त गरेका छन् । यसरी निर्वाचनमा प्रतिष्पर्धा गरेका ९ जनामध्ये कम्युनिष्ट-समाजवादी समूहका उम्मेदवार सुवेदी मात्र महासचिव पदमा विजयी बनेका छन् ।

महिला उपाध्यक्षमा सीता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल चयन भएका छन् । सह-कोषाध्यक्षमा तिलक कँडेल पनि निर्विरोध भएका छन् । महिला संयोजकमा सुशीला थापा निर्विरोध निर्वाचित भएकी छिन् ।

१५ सदस्यहरु सुमन शर्मा चम्लागाइँ, राजन प्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सवीन धिताल, दिलबहादुर परियार, सन्तोष नेपाली र गणेशदत्त शर्मा निर्विरोध चयन भएका हुन ।

सोमबार राती सम्पन्न घोषणा सभामा पूर्व मन्त्री वीरबहादुर बलायर, लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङ, निवर्तमान अध्यक्ष कुबेर कार्की र अध्यक्षमा पराजित उम्मेदवार ईश्वर रिजालले शुभकामना दिएका थिए । नवनिर्वाचित कार्यसमितिलाई उपाध्यक्ष आचार्यले सपथ ग्रहण गराएका थिए। घोषणा सभाको अध्यक्षता अशोक घिमिरे र सञ्चालन राजकुमार थापाले गरेका थिए ।

 

Comment here