वीरगञ्ज, ११ असोज । वीरगञ्जमा खुल्ला ठाउँमा मासु नबेच्न उच्च अदालतको आदेश दिएको छ ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणको स्वास्थ्यमा असर पार्ने तथा वातावरण प्रदुषण हुने गरी पशुपंक्षीको बध गर्न र मासु बिक्री गर्ने कार्य रोक्न भनेको हो ।
उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जको तर्फबाट अध्यक्ष अजित भुजेलले अस्वस्थकर ढंगले सडक पेटीलगायतका खुला स्थानमा माछामासुको बिक्री हुने गरेको भन्दै वीरगञ्ज महानगरपालिका लगायत नियमन गर्ने पक्ष विरुद्ध भदौ २२ गते आईतबार मुद्धा दर्ता गरेका थिए ।
न्यायाधीश भीमकुमार ओझा र राजेन्द्र सुवेदीको संयुक्त इजलासले विषयको संवेदनशीलतालाई मध्यनजर गरेर अन्तरिम आदेश जारी गरेको अदालतले जनाएको छ ।
अदालतको आदेशमा भनिएको छ ‘सर्वसाधरणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने तथा वातावरण प्रदुषण गर्ने गराउने गरी मासुजन्य पदार्थ निस्कने पशुपंक्षीको सार्वजनिक बाटोघाटोमा खुला रुपले बध गर्न गराउने तथा बिक्री वितरण गर्ने गराउने कार्यलाई रोक्नु लगाउनु भनी विपक्षीको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।’
Comment here
You must be logged in to post a comment.