जीबनशैलीसमाचार

दशैं समावेशी र पुख्र्यौली राष्ट्रिय पर्व : शताब्दी पुरुष सत्यमोहन

काठमाडौँ, १९ असोज ।

ट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।।

कविशिरोमणि लेखनाथ पौड्यालको दसैं कवितासँगै शताब्दी पुरुष सत्यमोहन जोशीले दसैंको चर्चा सुरु गरे । ‘सुरुमा त ऋतु नै परिवर्तन हुन्छ । हिलोमैलो हटेर सुकिलो र रमाइलो शरद ऋतु सुरु हुन्छ । अहिलेको समय यही हो । धान रोप्नेलगायतका खेतीपातीका काम पनि सकिएका हुन्छन्, यतिबेला,’ कुराकानीको सुरुवातमा नै उनले भने । उनी दसैं नेपाली समुदायको समावेशी राष्ट्रिय पर्व भएको बताँउछन् ।

जोशीको शताब्दी अनुभवमा मुलुकमा दसैं मनाउने शैली फेरिएको छ तर शैली फेरिए पनि दसैंप्रतिको मान्यता र विश्वास अटल छ । दसैंको मान्यता र विश्वासलाई नेपाली समुदायले कुनै न कुनै रूपमा आत्मसात गरिरहेको जोशी बताँउछन् । ‘दसैं सबै नेपालीका लागि प्रिय चाड हो, कतिपयले दसैं मनाउँदैनन् तर, दसैं नमान्नेले पनि दसैंमा सद्भाव राख्ने गर्छन्, जम्मा भएर शुभकामना दिन्छन्,’ जोशीले भने, ‘त्यसैले दसैं सबै समुदायका लागि समावेशी चाड हो ।’

–दसैंप्रतिको मान्यता र विश्वास अटल
–दसैंसँग शत्रुलाई समेत समेट्ने तागत

कुराकानीका क्रममा सत्यमोहनले नेपालबाहिर जन्मभूमि, कर्मभूमि र पितृभूमि भए तापनि नेपाली रहेकै नाताले बर्मामा रहेका नेपाली मूलका नेपाली भाषी पनि परपस्परमा शुभकामना दिएर दसैं मनाउने गरेको बताए ।

जहाँ, जो, जसरी रहे पनि पुख्र्यौली नाता नेपाली भएकाले यो चाड औधी खुसीका साथ मनाउने गरेको जोशीको भनाइ छ । त्यसैले दसैं हाम्रो पुख्र्यौली राष्ट्रिय चाड हो । ‘२००७ सालपछि राष्ट्रप्रमुखले विजयादशमीको शुभकामना दिने चलन सुरु भयो । जसमा सबै नेपालीलाई सम्बोधन गरेर शुभकामना दिन थालियो,’ उनले स्मरण गर्दै भने ।

‘दसैंको तागत भनेको शत्रुलाई पनि समेट्न सक्नु हो । अघिपछि शत्रु भए पनि दसैंमा मान्यजनबाट टीका थाप्ने चलन छ । यस समयमा सबै वैमनस्यता बिर्सेर सुस्वास्थ्य, संवृद्धि र दीर्घायुको कामना गर्ने गरिन्छ । दुर्गादेवीको पूजा–आराधना गर्दै रमाइलो गर्ने गरिन्छ,’ जोशी भन्छन् ।

जोशीका अनुसार दसैंको मुख्य पक्ष जमरा हो । यसलाई शक्तिको प्रतीकका रूपमा प्रकृतिको पूजा गर्ने गरिन्छ । जमरा औषधिका रूपमा समेत प्रयोग हुन्छ । समुदायअनुसार रातो, सेतो र कालो टीका लगाउने चलन रहेको उनको भनाइ छ । जुन रूपमा भए पनि विभिन्न शैलीमा दसैं मनाउन चलने गरिन्छ । नेवार समुदायमा रातो, सेतो, डोरो र कालो टीका लगाउने चलन छ ।

मालश्री धुन र देवीको महिमा

सत्यमोनहका अनुसार अघिपछि भगवान्का रूपमा गणेश, शिव, विष्णुलगायतको नाम आउने भए पनि दसैंमा मुख्य भवानीको रूपमा देवी मात्रलाई मान्ने गरिन्छ । यसक्रममा देवीलाई सबै शक्तिका रूपमा मानिने गरेको उनको भनाइ छ । यस समयमा सिजनको धुनका रूपमा मौसमको रूपमा मालश्री धुन बजाउने गरिन्छ । जसमा देवीको महिमा गाउँदै शक्तिको मन्त्र समावेश भएको हुन्छ ।

या देवी सर्वभूतेषु शक्ति–रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

जसले देखिने नदेखिने गरेर शक्ति सबै रूपमा रहने मान्यता राखेको हुन्छ । यसैलाई स्विकार्दै बौद्ध राई लिम्बु जेसुकै भए पनि शक्तिमा विश्वास राख्ने सम्प्रदायले प्रत्यक्ष अप्रत्यक्ष रूपमा शक्तिको पूजा गर्ने गरेको सत्यमोहन बताउँछन् । (राजधानी दैनिकबाट)

Comment here