काठमाडौँ, २० असोज । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए। सभापति खड्काले पुलको डिजाइनसमेत नभएका कारण सरकार कोरला नाका खुलाउन गम्भीर नभएको हो कि भन्ने आशङ्का बढेको बताए।
समितिले सो नाकासँग जोडिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न पनि सरकारलाई निर्देश गरेको छ । त्यसैगरी सो सडकखण्ड निर्माणका लागि विष्फोटक पदार्थको तत्काल व्यवस्था गरिदिन पनि सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको पनि स्थलगत भ्रमणका क्रममा समितिका सभापति खड्काले बताए ।
Comment here
You must be logged in to post a comment.