Uncategorized

धनी राष्ट्र हुन् वा गरिब सबैलाई समान बनायो कोरोना भाइरसले -निर्वतमान अध्यक्ष भट्ट

फ्रान्स , देश र सीमाना मात्र होइन, शक्ति र भक्ति अनि भाषा न भेष यसले कसैलाई चिन्दैन। विश्वलाई नै कोलाहल मच्याउने कोरोना भाइरसको कुरा गर्दैछु म यतिखेर।शक्तिशाली, धनी राष्ट्र हुन् वा गरिब मुलुक सबैलाई यसले समान चपेटामा पारेको छ। चिकित्सा विज्ञानका धरोहर आफै यसको चपेटामा परेका छन् अनि परमाणु बम बनाउनेहरु स्वयम् लुकेर बसेका छन् यसका सामु।विश्व घटनाक्रम हेर्दै जाने हो भने यस्ता प्राकृतिक प्रकोपले कयैन पटक लाखौं मानिसलाई स्वाहा पारेका दृष्तान्त पाइने गर्दछ।तर पछिल्लो परिदृष्य केही भिन्न र अलग प्रकृतिको छ। मानव जीवनको आधुनिकीकरण र आविष्कारले जीवन पद्दती नै बदलिन थालेको अवस्थामा कोरोनाको कहरले एकपटक सबैलाई घरभित्र थुन्न बाध्य बनाइदिएको छ, अनि सोच्न पनिशक्ति र सत्ताको शानले होस् या भक्ति र पैसाको मानले समेत कोरोनाको कहर रोक्न नसकेपछि यतिखेर प्राकृतिक मूल्य र मान्यताको खोजी समेत हुन थालेको छ। हामीले प्रकृतिमाथि अलि बढी विध्वंस मच्चायौँ कि भनेर विज्ञानका पण्डितहरु घोत्लिन बाध्य भएका छन्।

कोरोनाको कहरले अचानक विश्वलाई अंगालो मार्न थालेपछि आपतविपतमा ज्यान जोगाउन संसारभर नै यस महामारीबाट बच्न विविध निर्णय हुने गरेका छन्। मानिसबाट मानिसमै सर्ने भएकाले पनि कोरोनाले सामाजिक र भौगोलिक सम्वन्धलाई केही समयका लागि अलग पारिदिएको अवस्था छ।जल, थल र हवाइमार्ग लगभग ठप्पको स्थिति छ। ग्लोबल भिलेज भैसकेको बिश्वमानचित्रका कुनाकाप्चामा छरिएर रहेका मानिस यतिबेला आफ्नो गुँंड खोज्दैछन्।

पछिल्लो प्रतिवेदन अनुसार विश्वमा छरिएर रहेका प्रवासी नेपाली पनि यसको चपेटामा परेका छन्। आजसम्मको तथ्यांकलाई केलाउँदा करिब पचास जना प्रवासी नेपालीलाई कोरोनाले आफ्नो सिकार बनाइसकेको अवस्था छ। यो अत्यन्तै पीडादायक समय पनि हो। अस्वभाविक मृत्युको पीडामा परिवारले सास गएकाहरुको लास समेत हेर्न पाएका छैनन, योभन्दा पीडादायक क्षण अरु के नै हुनसक्ला।

संसारभर छरिएर रहेका लाखौं प्रवासी नेपालीहरु मात्र होइन, सिंगो मुलुक पनि यसको चपेटामा परेको छ। बन्दाबन्दीले अभावका पाटाहरु छरपष्ट हुन थालेका छन्।महिनौं हिँडेर घरसम्म पुग्न पाउँ भन्नेहरुको पीडामा मलम लगाउन सकिरहेको अवस्था छैन। प्रवासमा बसेका अनि फसेकाहरुका लागि पनि अहिले निकै गाह्रो र सारो देखिएको छ।

गाँस, बास र कपासका खातिर विदेसिएका नेपालीहरु आफूलाई सुरक्षित राखेर स्वदेश फिर्ने आशमा बसेका देखिन्छन्। मृत्यु भयानक सत्य हो तर विदेशमा अलपत्र पर्नु र स्वदेशमा आफ्नाको काखमा हुनु बीचको भिन्नता तुलना गर्न सकिँदैन। संकटमा सम्झिने भनेकै भगवान, देश र सरकार हुन्।भगवान, नेपाल आमा र सरकारप्रति आ आफ्नै मान्यता होलान्। तर नागरिकको संकटको समाधान भने राज्य सरकारसँग सिधै जोडिने गर्दछ। विदेशमा अलपत्र परेका ,फसेका र समस्यामा परेका हरुलाई उद्दार गर्नु राज्यको दायित्व पनि हो।

राज्य लकडाउनमा छ, सीमा पारि र वारिका समस्या सुल्झाउन समेत हम्मेहम्मे परेको छ। रोग रोक्न सीमाना छेक्नु मात्र समाधान होइन, आफ्ना नागरिकलाई सीमाबाट भित्र्याएर समयसापेक्ष बन्दाबन्दीमा राख्न सक्नु पनि राज्य संयन्त्रको महत्व र चासो बन्नुपर्छ।देश दुख्दा चसक्क मुटु दुख्ने जमात हो प्रवासी नेपाली। चाहे भूकम्प होस् या बाढी पहिरो, काम छाडेर सहयोगको पोको खोल्छन् अनि देशप्रति सहयोगको धोको फेर्छन्। कहालीलाग्दो भुमरीका बीचमा पनि गैर आवासीय नेपाली यतिखेर मुलुकको सहयोगमा जुटेकै छन्। चाहे त्यो कोरियाबाट पिपिई किट हुन् या चीनबाट मास्क र स्वास्थ सामग्री वा आर्थिक सहयोग नै। पीडाका बीच पनि प्रेम झल्काउन र माया पल्काउन उत्तिकै खप्पिस छन प्रवासीहरु।

कोरोनाले हाम्रो जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नकरात्मक प्रभाव पारिसकेको छ, यो अझै कतिञ्जेल लम्विने हो र यसले हाम्रो जीवनमा पार्ने असरहरु थप खतरनाक पनि हुन सक्छन्।सचेत नागरिकका हैसियतले सामाजिक दायित्व पुरा गर्नु अहिलेको पहिलो प्राथमिकता बनेको छ। पहिले आफू र आफ्नो परिवार सुरक्षित रहने अनि समाज र अरुलाई पनि सुरक्षित पार्ने जिम्मेवारी तपाईहामी सबैमा आइपरेको छ। संकटको यस घडीमा घरमा बसौँ, रोगबाट बचौं र अरुलाई पनि बचाऔँ।

लेखक गैरआवासीय नेपाली संघ (एनआरएन)का निर्वतमान अध्यक्ष हुन्

Comment here