Uncategorized

ग्लोबल गोरखा समाज सल्लाहकार गौरवशाली इतिहास बोकेको कतार र अनकुरणीय विकास

प्रोफेसर मोहम्मद रमजान अली मियाँ

दोहा । ‘मिहिनेत यसरी गर्नु कि भाग्य पनि साथ दिन बाध्य होस ।’ हो यस्तै संयोग जुर्यो कतारका संस्थापक शैख जासिम बिन मोहम्मद बिन अल थालीलाई । उनको एकीकरण र राज्यप्रतिको बफादारीले आज कतारलाइ बिश्व जगतको त्यो शिखरमा ल्याई खडा गरेको छ जसको बारेमा स्वयं उनैले भनेका थिए…
‘राजगद्दीका मालिक, हामी हजुरको स्तुति गर्दछौं ।
हामी हरेक कर्ममा हजुरको फैसला स्वीकार गर्दछौं ।।’
वास्तव मा इश्वर नै यस ब्रह्माण्डका एकल मालिक हुनुहुन्छ र उनैको अधिनमा यो जगत छ । उनैले सबैलाइ कर्म र भाग्य प्रदान गरेका छन । जसमा ईश्वरको महिमा लुकेको हुन्छ । अनि त्यसैलाई उनको फैसला मानेर स्वीकार गर्नुको कुनै बिकल्प पनि हामीसँग रहँदैन । यसै कविताका रचयिता शेख जासिम बिन मोहम्मद अल थानी कतार राज्यका संस्थापक मानिन्छन । यो वर्ष सन् २०२० को कतार राष्ट्रिय दिवसको मुल नारा उनैको कविताको एक अंशलाई आधार मानेर नाराको रुपमा भनिएको छ ।
नह्मदुक या दल अर्श ।
‘राजगद्दीका मालिक, हामी हजुरको स्तुति गर्दछौं ।
“हामी हरेक कर्ममा हजुरको फैसला स्वीकार गर्दछौं ।।’

उनी सैन्य अगुवा,न्यायमुर्ती एवं अत्यन्तै बिश्वासिला ब्यक्तिको रुपमा कतारको इतिहासका पानाहरुमा आजपनि जगमगाईरहेका छन, चम्किरहेका छन् । उनी एक बौद्धिक एवं उच्चतहका कवि पनि थिए । आफ्नो मातृभूमि कतार माथिको हरेक आक्रमणलाई बिफल पार्न सक्ने असाधारण सैन्य शक्ति अनुभवका अनुभवी योद्धा पनि थिए । जसले भनेका थिए राजगद्दीका मालिक शासक कहिल्यै हुँदैनन् वास्तविक शासक त उनै पालनहार मालिक ईश्वर हुन जस्को स्तुति गर्न शासक पनि बाध्य हुन्छन् । सत्ता र शासनको घमण्डले नेतृत्वलाई कहिल्यै पनि सफलता पुर्याउंँदैन भन्ने धारणालाइ शेख जासिमले प्रमाणित नै गरेर देखाइदिए ।
सन् १८२७ मा जन्मिएका शेख जासिम बिन मोहम्मद अल थानीले बुवाको बृद्धअबस्थासँगै सन १८७६ मा शासन सम्हालेका थिए । सन् १८७८ मा बुवा मोहम्मद बिन थानीको निधन पछि मुलुकको पूर्ण जिम्मेवारी लिए । उनले सोही वर्ष स्वशासित राज्यहरूबाट मेयर तथा डेपुटी गभर्नरको उपाधि पनि प्राप्त गरे । स्वशासित राज्यहरूले अल जुबाराह, दोहा, अल वक्रा र अल खोरमा प्रशासकलगायत ओटोमन अधिकारी नियुक्त गरेर कतारमा आफ्नो प्रभाव बढाउन खोजेका थिए । साथै उनीहरुले दोहामा भन्सार स्थापना गर्नुका साथै दोहाको स्वशासित क्षेत्रमा सैन्य बललाई अझैं बलियो बनाएका थिए । शासन सुरुवाती वर्षहरुमा उनले राष्ट्रिय भावनाका साथ कतारी जनतालाइ एकजुट बनाउन निक्कै मिहिनेत गरे । उनले जुरिस्टहरुलाइ बोलाएर कुरआनिक स्कुलहरु स्थापना गर्दै मानव जिवनको सफलताको अहम सुत्रधार शिक्षाको प्रर्वद्धनमा विशेष ध्यान दिए ।
उनले मस्जिद निर्माण र मानिसहरू बीचको कलह साम्य पार्न महत्वपूर्ण योगदान गरे । उनले हार्वरहरु र बन्दरगाहहरुको सुधार गर्दै स्थानीय स्रोत मोतिको ब्यापार प्रर्वद्धन गर्ने निति अवलम्बन गरे । उनकै कार्यकालमा कतार सो क्षेत्रमा मोतिको सबैभन्दा ठूलो स्रोत र केन्द्र बन्यो । शैख जासिमकै पालामा कतारले भारत र पुर्वी अफ्रिकासम्म ब्यापार बिस्तार गर्न सफल भयो । जसले मुलुकमा रोजगारी सिर्जना गर्यो र जनताको जीवन स्तर सुधारमा असामान्य योगदान गरयो ।


बाहिरीस्तरमा शैख जासिम ईस्लामिक क्यालिफेटका बफादार सहयोगी र सशक्त समर्थक थिए । जसका कारण ओट्टोमन अधिकारी संगको उनको सम्बन्ध निक्कै गहिरो बन्यो यसैले गर्दा उनलाइ सेनाको ‘कैमाखम’ उपाधी दिइएको थियो । पछि उनले अर्को उच्च सम्मान (तुर्क भाषामा दिइएको सम्मान) कापुजी–बासी पनि हासिल गरे । यो कतारी आदिवासीलाई उनले दिएको नेतृत्व र वास्तविक आधिकारिकताको लागि थियोे । तर कतारको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने ओट्टोमनको आग्रह र कतारी तथा देशको हित जोखिममा पर्ने भन्दै शैखले त्यसमा जनाएको अस्विकृतिले सैन्य मुठभेट नै निम्त्यायो । तर, अल वज्बाह युद्धको नामले कतारी इतिहासका पानाहरुमा स्मरण गरिने उक्त सैन्य मुठ्भेड कतारको बिजयका साथ सन् १८९३ मा टुंगियो ।
ओट्टोमनको पराजयलाइ कतारको आधुनिक इतिहासमा कोशेढुङ्गा मानिएको छ । किनभने यसमा शैख जासिम र कतारी जनताले अदम्य साहस देखाएका थिए । अरबी समाजमा साहित्यलाई असामान्य स्थान हासिल छ । कविता तथा शायरी पढ्नु गाउनु र कसैको निम्ति पेश गर्नुलाई निकै सम्मान गरिन्छ । हस्सान बिन साबित अरबी साहित्यका महान ब्यक्ती थिए । कविता शायरीले मानिसमा भिन्नै प्रकारको उर्जा थप्ने कार्य गर्दछ । शैख जासिम कवि हुनुका खातिर उनले आफ्नो नबाती कविताको माध्यमबाट जनतालाइ आफू तर्फ निक्कै आकर्षित गर्न सफल भए । उनले आफ्नो कविताहरुको संग्रहको पुस्तक समेत प्रकाशित गरेका थिए जो अत्यन्तै प्रख्यात छ । शेख जासिमले शासनभार सम्हालेको दिन डिसेम्बर १८ सन् १८७८ लाई कतारको इतिहासमा स्वर्ण अक्षरले लेखिएको ऐतिहासिक दिन मानिन्छ । यसैको सम्झनामा कतारमा हरेक वर्ष राष्ट्रिय दिवस मनाउने चलन छ । कतारलाइ स्वतन्त्र मुलुकको हैसियतमा बिश्वको नक्शामा स्थापित गराएर आधुनिक कतारको संस्थापक मानिने महान नेता तथा कुशल शासक शैख जासिम बिन मोहम्मद बिन अल थानीको सन् १९१३ को जुलाईमा दोहामा निधन भएको थियोे ।
आफ्नो उत्पत्तिको बलियो जरामा समृद्धिको मार्ग पच्छ्याएको कतार निरन्तर अगाडि बढ्ने र अत्यन्तै चमत्कारिक ढंगले अगाडि बढिरहेको प्रत्यक्ष देख्न सकिन्छ । आफ्ना नागरिक र जनता प्रतिको उत्तरदायित्वलाई सदा शिरोपर राखेर कतारले सदैव आफ्ना जनताको असामान्य माया र अभुतपुर्व समर्थन पाएको छ । चाहे त्यो संस्थापक नेता शैख जासिम बिन मोहम्मद बिन अल थानीको युग होस वा उनका उत्तराधिकारी शैख अब्दुल्लाह बिन जासिम अल थानी(१९१३–१९४९) हुँदै शैख खलीफा बिन हमद तथा शैख हमद बिन खलीफा अल थानीको पुनर्जागरणको कालखण्डमा नै किन नहोस । कतारी जनताबाट अमीरहरुले पाएको बिश्वास तथा राज्य सत्ताप्रतिको ऐक्यबद्धता बिश्वजगतका अन्य शासकहरुको निम्ति पनि अनुकरणीय नै छ ।
हालैको कोभिड–१९ कोरोना महामारीसंग जुध्न कतारी नागरिक तथा जनताले राज्यलाइ दिएको असामान्य साथले कतार आज कोरोनारहित खाडी राष्ट्रको उच्च स्थानमा उभिन सफल भएको छ । त्यतिमात्रै होइन राज्यका निकायहरुले पनि नागरिकको सुरक्षार्थ अपनाएको ठोस निति र चालेका मजबुत कदम अनि सम्पादन गरेका कार्यहरु आउने दिनहरुमा इतिहासका पानामा स्वर्ण हरुपले लेख्न योग्य छन् । राज्यका हरेक निकायको बिश्वास अनि सहकार्यले कतारलाइ कोरोनासँग लड्न खासै गुथ्थमगुथ्थी गर्नु परेन । यहाँका स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मिहरु कुनै युद्धको मैदानमा बीरताका साथ लड्ने सिपाही भन्दा कम देखिएका थिएनन् ।
आफ्ना नागरिक सरहको स्वास्थ्यसेवा आप्रवासी नागरिकलाई समेत उपलब्ध गराएर वास्तवमै कतारले विश्वको मन जितेको छ । यस्तो महामारी जसको नामै सुनेर अनि तात्कालिन बिश्वको अवस्था सम्झेर आज पनि यो मन थरर हुन्छ त्यो कठिन समयमा पुन कतारी राज्य सत्ताले देखाएको अपनत्व, सहकार्य तथा उर्जाशिल कदमले आज कतारलाइ मानवीय कार्यको अग्रणी पङ्गतीमा खडा गरेको छ जसप्रति हामी आप्रवासीको मन खुसीले गदगद छ । यो त्यो समय थियोे जतिबेला बिश्व जितेर आनन्दको स्वास फेर्नेहरु पनि जीवन र मृत्युको दोसङ्हारमा तड्पिरहेका थिए ।
कतारले यो समयमा आफ्नो देश भित्ररहेकाहरुको पीडा मात्र महसुस गरेन बिश्वका ८० भन्दा बढी मुलुकहरुलाइ कोरोना जस्तो महामारीसंग कडा प्रतिस्पर्धा गर्न सुरक्षा कवजको रुपमै स्वास्थ सामग्री सहयोग उपलब्ध गराएर बिश्वका अन्य मानव कल्याणकारी संघ संस्थालाई पछारिदियो । स्वयं मातृभूमि नेपाललाई समेत आरम्भमै कार्गो जहाजले भरिएको स्वास्थ्य सामाग्री उपलब्ध गराउन आफू जस्तै ४ लाख भन्दा बढी नेपालीहरु कतारको समृद्धिमा जुट्न पाउंँदा खुशिले होइन आफ्नो भाग्यलाइ नै धन्यवाद नदिइ रहन सकिन र प्रफुल्लित हुँदै शैख जासिम बिन मोहम्मद बिन अल थानीले भने झै चिच्याएर भन्न मन लाग्यो नहमदुक या दल अर्शी ।
राजगद्दीका मालिक, हामी हजुरको स्तुति गर्दछौं ।
हामी हरेक कर्ममा हजुरको फैसला स्वीकार गर्दछौं ।।
आफ्ना पुर्वजले देखाएको सुनौलो मार्गलाइ पच्छ्याउनुभएका बर्तमान अमीर सम्माननिय शेख तमीम बिन हमद अल थानीज्युको नेतृत्वदायी भुमिका यतिबेला बिश्व राजनेताहरु माझ विशेष बहस तथा गहन छलफलको बिषय बन्ने गरेको समय समयमा सन्चारमाध्यममा पढ्न र देख्न पाइन्छ । वास्तवमै सम्माननिय शेख तमीम बिन हमद अल थानीज्यु अलथानी परिवारको दरिलो खम्बा र असाधारण बिश्वासको पात्रको रुपमा र अरबको गौरवान्वित इतिहासको सुनौलो ताराको रुपमा बिश्व शान्ति समृद्धि तथा एकताका प्रतिकको रुपमा अगाडि बढिरहेको देख्दा छाती फुलाएर भन्छु–‘म त कतारमा छु । कतारको समृद्धिलाई नेपाल भित्र्याउन कतारमा सीप सिकिरहेको छु ।’
मौसुफको कार्यकालका दर्जनौं प्रसंशनिय पक्ष हरु छन जसलाइ वर्णन गर्न यहाँ सम्भव छैन् । यद्यपि सारन्शमा भन्ने हो भने कतारले हरेक तहतबकाको अधिकारको सम्मान गरेको पाइन्छ । मध्यपुर्वमै मात्र नभनौ बिश्व बजारमै पहिलो पटक श्रमिकको न्युनतम ज्याला तथा पारिश्रमिक तोकेर कतारले श्रमिकक रगत पसिना चुस्न पल्केको लबीलाइ दरिलो पाठ सिकाउन सफल भएको छ । कतारको यस कार्यलाइ स्वयं छिमेकी मुलुकहरूले समेत अवलम्बन नगरी बस्नै सकेनन् । फलस्वरूप कतार श्रमिकको मसिहा बन्न सफल भएको छ ।
कला संस्कृति सम्पदाको जगेर्ना गर्न कतारले कतार म्युजिक अथोरेटी कायम गरेर दोहालाइ अरब कल्चरको राजधानीको रुपमा परिचित गराउन सफल कतारले खेलकुदको इतिहासमा त यस्तो छलाङ मार्न सफल भयो कि आज बिश्व चकित र दङ्ग खाएको छ । अरब भुमिमा पहिलो पटक बिश्वकप आयोजना गर्न मेजबानी गर्न पाएको कतारले बिश्व खेलकुद कै इतिहासमा अनौठा र चमत्कारिक रंगशालाहरुको निर्माण अनि ब्यवस्थापन कयौं शताब्दीसम्म स्मरण गरिनेछ जसमा कतारलाइ पहिलो स्थानबाट झार्न त्यति सजिलो नहोला ।
बिश्व शान्तिका निम्ति अफगान युएसए शान्तिबार्ता होस वा सुडान डार्फुरको शान्ति तथा मेलमिलाप अभियान होस अथवा लेवनानको बिस्पोटनमा रगतले लत्पत्तिएको बैरुतको पीडामा कतारको ममताले भरिएको साथ किन नहोस सबैमा बिश्वले पाठ सिक्नुपर्ने थुप्रै बिषयहरु छन् । आफ्ना पुर्खाले देखाएको उज्ज्वल मार्गलाइ अनुसरण गर्दै बिश्वमाझ आफ्नो फरक पहिचान बनाउन सफल कतारले वास्तवमै शेख जासिमप्रति उच्च सम्मान ब्यक्त गरेको सर्वत्र देखिन्छ । बडो उत्साह छ असामान्य तयारीहरु देख्न सकिन्छ । कतारी र गैरकतारीको खुशीको कुनै सिमा नै छैन । आजको यस ऐतिहासिक दिन पनि उनै महान नेता शैख जासिम अल थानीको स्मरण प्रती समर्पित गर्दै कतारी अमीर ,कतारी सरकार यहाँका आम नागरिक यहाँ रहेका सम्पूर्ण आप्रवासी मित्रहरुलाई यस दिनको अनेकन शुभकामना ब्यक्त गर्दै कतारको राज्यको महान नेतृत्वलाई अभिवादन । (हाल राष्ट्रिय मानव अधिकार आयोग कतार) लेखक गोरखा ग्लोबल समाजका सल्लाहकार हुनुहुन्छ