समाचार

कांग्रेसले गठबन्धन नगरे हालत पहिलेकै जस्तो हुन्छ – प्रधानमन्त्री देउवा

६ वैशाख काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसको हालत पहिलेकै चुनावको जस्तो हुने बताएका छन्। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौंमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गठबन्धन नगरि चुनाव लडेमा पहिलेको जस्तै हालत बताएका हुन्। उनले गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गरे। देउवाले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, गठबन्धन टुट्नेबित्तिकै हाम्रो हालत पहिले जस्तै हुन्छ, पहिले एमाले र माओवादी मिल्दा के भएको थियो ? भोलि त्यही अवस्था नआओस्, नयाँ संविधानअनुसार एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन, कसै न कसैसँग त मिल्नैर्पयो। अब गठबन्धनलाई राम्रोसँग अघि बढाउनुपर्छ।’

गठबन्धन लेनदेनको विषय पनि भएकाले सबैतिर कांग्रेसले मात्रै पाउनुपर्छ भनेर अडान लिन नहुने देउवाको भनाइ छ। माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चासँगको गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री पाएको, एउटा पनि मुख्यमन्त्री नभएको अवस्थामा गण्डकी र कर्णालीमा मुख्यमन्त्री पाएको र अरू सरकारमा पनि सहभागी भएको, विभिन्न ठाउँमा सम्मानजनक उपस्थिति रहेको प्रधानमन्त्री देउवाले बताए। २०२७ सालमा स्थापना भएको नेपाल विद्यार्थी सङ्घले किन क्याम्पसहरूमा हार्दै गइरहेको छ भनेर समीक्षा गर्न पनि उनले आग्रह गरे। अरू दलका विद्यार्थी सङ्घले विद्यालयमै कमिटी बनाएको तर नेपाल विद्यार्थी सङ्घले विद्यालय तहमा सङ्गठन नबनाएकोमा देउवाले असन्तुष्टि जनाए।